एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी
२४ असोज २०७९, सोमवार
२४ असोज २०७९, सोमवार
काठमाडौं- नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी गराएकी छन्।
‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्।
चौधरी दाङ–१ बाट स्वतन्त्र उम्मेदवार दिने भएकी हुन्। ‘हामीजस्तो कार्यकर्तालाई पार्टीले मुल्याकंन नगरेपछि यो निर्णय गरेको हुँ,’ चौधरीले भनिन्, ‘बाहिरबाट ल्याएर उम्मेदवार ल्यायो भने कसलाई स्वीकार्य हुन्छ र?’
उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन्। यसअघि ०२७४ को निर्वाचनमा दाङ-१ मा नेकपा एमालेबाट मेटमणि चौधरीले जित हात पारेका थिए। यसपटक दाङ-१ मा शान्ता चौधरीलाई उम्मेदवार बनाउने एमालेको तयारी छ।
शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ। दाङ- २ बाट एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन्। दाङ- १ बाट गंगासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो।
गंगाले पार्टीका नेताहरूसामू आफ्ना कुरा राख्दा पनि सुनुवाइ नभएको र उम्मेदवारीबाट वञ्चित गराएको बताएकी छन्।
गंगा चौधरीले २०४९ सालमा एमालेको क्रियाशील सदस्यता लिएर पार्टीमा आबद्ध भएकी थिइन्। उनले २०६४ सालमा एमाले परित्याग गरी थरुहट तराई पार्टीमा लागेकी थिइन्। २०७० मा संविधानसभा सदस्य बनेकी उनी २०७४ सालको निर्वाचनअघि एमालेमै फर्किएकी थिइन्। २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी उनले अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन्। एमालेको चितवनमा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन्।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio