कतारको ग्यास उत्पादन केन्द्रमा इरानको भिषण आक्रमणमा, विश्वव्यापी ऊर्जा संकट गहिरिने संकेत
५ चैत्र २०८२, बिहिवार
५ चैत्र २०८२, बिहिवार
काठमाडौँ । इरानको आक्रमणपछि कतारको तरलीकृत प्राकृतिक ग्यास उत्पादनमा ठूलो क्षति पुगेको छ ।
कतारको रक्षा मन्त्रालयका अनुसार इरानले पाँचवटा क्षेप्यास्त्र प्रहार गरेकोमा चारवटा आकाशमै रोकिने गरी नष्ट गरिएका थिए भने एउटा रास लाफान औद्योगिक क्षेत्रमा खसेको थियो । उक्त क्षेत्रमा राज्य स्वामित्वको ग्यास उद्योग, इन्धन प्रशोधन केन्द्र र ठूलो औद्योगिक संरचना रहेका छन् । घटनापछि आगलागी नियन्त्रण गर्न तत्काल उद्धार टोली परिचालन गरिएको कतार ऊर्जा कम्पनीले जनाएको छ। आक्रमणबाट ठूलो भौतिक क्षति पुगेको बताइएको छ ।
यो घटनाले पश्चिम एसियामा जारी युद्धलाई थप चर्काएको छ र विश्व ऊर्जा बजारमा गम्भीर असर पर्ने संकेत देखिएको छ। कतार विश्वकै दोस्रो ठूलो ग्यास निर्यातकर्ता देश हो र एसियामा सबैभन्दा ठूलो आपूर्तिकर्ता मानिन्छ ।
विश्लेषकहरूका अनुसार रास लाफान क्षेत्रबाट विश्वको करिब पाँचौँ हिस्सा ग्यास आपूर्ति हुने भएकाले यहाँको क्षतिले दीर्घकालीन ग्यास अभाव हुनसक्ने जोखिम छ । मर्मत कार्य पूरा हुन महिनौँदेखि वर्षौँसम्म लाग्न सक्ने आकलन गरिएको छ ।
कतार ऊर्जा कम्पनीका प्रमुख साद अल काबीका अनुसार आक्रमणका कारण करिब १७ प्रतिशत उत्पादन क्षमता नष्ट भएको छ । क्षतिग्रस्त संरचना पूर्ण रूपमा मर्मत गर्न ३ देखि ५ वर्ष लाग्न सक्ने उनले बताएका छन् । उनका अनुसार क्षति निकै ठूलो भएकाले कतारले दीर्घकालीन ग्यास आपूर्ति सम्झौतामा ‘फोर्स मेजर’ घोषणा गर्नुपर्ने अवस्था आउन सक्छ । यसले इटाली, बेल्जियम, दक्षिण कोरिया र चीनजस्ता देशमा ग्यास आपूर्तिमा असर पर्ने सम्भावना रहेको छ । अल काबीले ती ऊर्जा परियोजनामा करिब २६ अर्ब डलर लगानी गरिएको उल्लेख गर्दै ठूलो आर्थिक क्षति भएको बताएका छन् । ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार कतारको उत्पादन घट्दा विश्व बजारमा ग्यास आपूर्तिमा संकट आउन सक्ने र मूल्यमा तीव्र वृद्धि हुन सक्ने देखिएको छ ।
यसअघि इजरायलले इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो। सोही क्रममा कतारको यो उद्योग क्षेत्र लक्षित गरिएको हो ।
युद्धका कारण हर्मुज जलडमरु क्षेत्रमा जहाज आवतजावत प्रभावित भएको छ भने खाडी क्षेत्रका धेरै देशहरूले तेल तथा ग्यास उत्पादन घटाएका छन्। यसले विश्व बजारमा आपूर्ति संकट थप गहिरिने चिन्ता बढेको छ।
कतारले रास लाफानमा भएको आक्रमणलाई आफ्नो सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन भन्दै निन्दा गरेको छ । साथै इरानका सैन्य अधिकारीहरूलाई २४ घण्टाभित्र देश छाड्न निर्देशन दिएको जनाएको छ । यस घटनापछि अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य बढ्न थालेको छ, जसले आगामी दिनमा विश्वव्यापी ऊर्जा संकट अझ गम्भीर बन्न सक्ने संकेत देखिएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio