मादुरो पक्राउ प्रकरणमा पूर्व उपराष्ट्रपति ह्यारिसको टिप्पणी- गैरकानूनी र मूर्खतापूर्ण !
२० पुष २०८२, आइतवार
२० पुष २०८२, आइतवार
काठमाडौँ । अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेकोमा कडा आलोचना गरेकी छन् ।
ह्यारिसले यसलाई गैरकानुनी र मुर्खतापूर्ण भएको टिप्पणी गरेकी छन् । ह्यारिसले मादुरो एक क्रूर र अवैध शासक भएको भएपनि ट्रम्पको यो कदमले अमेरिकालाई सुरक्षित, बलियो नबनाउने दाबि गरेकी छन् ।
उनले भनेकी छन्- 'भेनेजुएलामा डोनाल्ड ट्रम्पको कार्यले अमेरिकालाई सुरक्षित, बलियो वा सस्तो बनाउँदैन । मादुरो एक क्रूर र अवैध तानाशाह हुन सक्छन्, तर त्यसले यो कार्य अवैध र गलत थियो भन्ने तथ्यलाई परिवर्तन गर्दैन । हामीले यो पहिले पनि देखेका छौं ।'
ह्यारिसले अगाडी भनेकी छन्- 'शासन परिवर्तन वा तेलको नाममा लडिएका युद्धहरूलाई शक्तिको कार्यको रूपमा प्रस्तुत गरिन्छ, तर अन्तमा तिनीहरू अराजकतामा परिणत हुन्छन्, र अमेरिकी परिवारहरूले मूल्य चुकाउँछन् ।'
ह्यारिसले ट्रम्प प्रशासनले लागूपदार्थको तस्करी रोक्ने वा लोकतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यले नभएर तेलको हितमा काम गरिरहेको आरोप पनि लगाएकी छन् ।
ह्यारिसले भनिन्- 'यदि उनीहरूले साँच्चै यी कुराहरूको वास्ता गरेको भए, उनीहरूले मादुरोका साथीहरूसँग सम्झौता गरेर दोषी ठहरिएका लागूपदार्थ तस्करलाई माफी दिने र भेनेजुएलाको वैध विपक्षीलाई सीमान्तकृत गर्ने थिएनन् ।'
मादुरो र उनकी श्रीमतीलाई भेनेजुएलाबाट शनिबार पक्राउ गरी अहिले न्यूयोर्कक ब्रुकलिन हिरासत कक्षमा राखिएको छ । ट्रम्प प्रशासनले मादुरो र उनकी श्रीमतीलाई लागूऔषध तस्करी र अमेरिकीहरुको ज्यान जोखिममा पारेको मुद्धा दायर गरेका छन् र केहि दिनमा अदालतमा पेश गर्ने बताएका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio