Sunday, 19 April 2026
×
अन्तराष्ट्रिय
   

उत्तर कोरियाबाट अमेरिकालाई लक्षित गर्नसक्ने मिसाइल परिक्षण

१५ चैत्र २०८२, आइतवार

उत्तर कोरियाबाट अमेरिकालाई लक्षित गर्नसक्ने मिसाइल परिक्षण

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोंग उनले नयाँ तथा शक्तिशाली क्षेप्यास्त्र इन्जिन परीक्षणको प्रत्यक्ष अवलोकन गरेका छन् ।

सरकारी सञ्चार माध्यमले आइतबार यसको जानकारी दिएको हो । यो इन्जिन सुधारिएको, उच्च शक्तियुक्त र ठोस इन्धनमा आधारित रहेको बताइएको छ, जसको क्षमता पहिलेभन्दा धेरै बढाइएको छ । किमले यसलाई देशको सैनिक शक्ति विस्तारतर्फको महत्वपूर्ण कदम बताएका छन् ।

उक्त परीक्षणको उद्देश्य अमेरिका र उसका सहयोगीलाई लक्षित गर्न सक्ने क्षेप्यास्त्र विकास गर्नु रहेको जनाइएको छ । यस्ता क्षेप्यास्त्र पहिचान गर्न र रोक्न कठिन हुने बताइएको छ ।

कोरियन केन्द्रीय समाचार एजेन्सीका अनुसार यो इन्जिन कार्बन फाइबरबाट बनेको हो । यसको अधिकतम शक्ति २५ सय किलोटन मापन गरिएको छ, जुन यसअघि सेप्टेम्बरमा गरिएको परीक्षणमा १ हजार ९७० किलोटन थियो । यो परीक्षण देशको पाँच वर्षे हतियार विकास योजनाअन्तर्गत गरिएको हो । यसको लक्ष्य परमाणु क्षमता भएका ब्यालिस्टिक क्षेप्यास्त्रलाई थप आधुनिक बनाउनु रहेको छ । किमले यस परीक्षणपछि देशको रणनीतिक शक्ति उच्च स्तरमा पुगेको दाबी गरेका छन् । परीक्षण कहिले र कहाँ गरिएको हो भन्ने स्पष्ट जानकारी भने दिइएको छैन ।

केही विज्ञहरूले उत्तर कोरियाको दाबी बढाइचढाइ गरिएको हुन सक्ने बताएका छन् । दक्षिण कोरियाका एक अनुसन्धानकर्ता ली चुन ग्यूनले उत्तर कोरियाले केही महत्वपूर्ण विवरण लुकाएको हुन सक्ने बताए । विशेषगरी इन्जिन कति समयसम्म चलेको थियो भन्ने जस्ता तथ्य सार्वजनिक गरिएको छैन ।

यसअघि सेप्टेम्बरमा गरिएको परीक्षणलाई उत्तर कोरियाले ठोस इन्धन इन्जिनको अन्तिम जमिन परीक्षण भनेको थियो र यसलाई अन्तरमहादेशीय क्षेप्यास्त्रमा प्रयोग गरिने जनाएको थियो । त्यसबेला विज्ञहरूले छिट्टै यस्तो इन्जिन जडित क्षेप्यास्त्र परीक्षण प्रक्षेपण हुने अनुमान गरेका थिए, तर हालसम्म त्यस्तो परीक्षण भएको छैन ।

विज्ञहरूका अनुसार यस कार्यक्रम केही ढिलो भइरहेको देखिन्छ । रुसको प्राविधिक सहयोगमा अझ उन्नत इन्जिन विकास भइरहेको सम्भावना पनि औंल्याइएको छ । पछिल्लो समय रुस र उत्तर कोरियाबीच सम्बन्ध थप नजिकिँदै गएको छ। उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न आफ्ना सैनिक र हतियार पठाएको पनि बताइएको छ ।

ठोस इन्धन प्रविधिबाट उत्तर कोरियाले साना क्षेप्यास्त्र पनि निर्माण गर्न सक्छ, जसलाई पनडुब्बी वा चलायमान सवारीबाट प्रक्षेपण गर्न सजिलो हुन्छ । यसले अमेरिकी सुरक्षा प्रणालीका लागि चुनौती बढाउने अनुमान गरिएको छ ।

उत्तर कोरियाले पछिल्ला वर्षहरूमा धेरै क्षेप्यास्त्र परीक्षण गरिसकेको छ, जसले अमेरिका सम्म पुग्ने क्षमता राख्छन् । 

सन् २०१९ मा डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोंग उनले आफ्नो परमाणु भण्डार बढाउन जोड दिँदै आएका छन् । उनले वार्ताको ढोका खुला राखे पनि परमाणु निःशस्त्रीकरणको शर्त स्वीकार गर्न अस्वीकार गर्दै आएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *