काँग्रेस विशेष महाधिवेशनको बाटोमा अगाडी बढ्यो- महामन्त्री थापा
१६ पुष २०८२, बुधवार
१६ पुष २०८२, बुधवार
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस विशेष महाधिवेशको बाटोमा अगाडी बढेको बताएका छन् ।
महामन्त्री थापाले राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना दिदै पुस मसान्तभित्र नियमित महाधिवेशन हुने अवस्था नबनेपछि अब काँग्रेस विशेष महाधिवेशनको बाटोमा अगाडी बढेको बताएका हुन् ।
उनले भनेका छन्- 'राष्ट्रिय एकता र मेलमिलाप दिवस' को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'
महामन्त्री थापाले राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको उल्लेख गर्दै भनेका छन्- 'नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन - भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।'
उनले राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी भएको उल्लेख गर्दै सबै काँग्रेस कार्यकर्तालाई विशेष महाधिवेशनको बाटोमा हातेमालो गर्दै एकताबद्ध हुना आव्हान समेत गरेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio