मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुचारू
१८ चैत्र २०८२, बुधवार
१८ चैत्र २०८२, बुधवार
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुचारू गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मङ्सिर ६ गतेदेखि स्थगित गरिएको कार्यक्रम आयोगको चैत १८ गतेको निर्णयअनुसार चैत २२ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नै विवरण प्रयोग गरी अनलाइन प्रणालीबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।
यस्तै, राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नागरिकले ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी फोटो र औंठाछापसहितको विवरण दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।
यसका साथै नाम, थर वा ठेगाना सच्याउने, एउटै वडाभित्र मतदान स्थल परिवर्तन गर्ने, नागरिकता अनुसार विवरण अद्यावधिक गर्ने, दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइँसराइका विवरण अपडेट गर्ने कार्यका लागि पनि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
आयोगले सम्बन्धित सबैलाई यो सुविधा प्रयोग गरी आफ्नो विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio