नेपाली काँग्रेसको बैठकले के के निर्णय गर्यो ?
८ चैत्र २०८२, आइतवार
८ चैत्र २०८२, आइतवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । शुक्रबार र आइतबार बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्दै सकिएको हो ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
यसअघि निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै थापाले पदबाट राजीनामा दिएका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार र आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले थापाले सभापतिबाट दिएको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता चालिसेले बताए ।
काँग्रेस बैठकका निर्णयहरु:
१- नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २६(१) बमोजिम २०८२ चैत्र ३ गते दिनु भएको राजीनामाका सम्बन्धमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले दिएको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रुपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको, देशको मौजुदा परिस्थितिमा नेपाली कांग्रेसको सभापतिको रुपमा उहाँले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नु पर्ने महत्वपूर्ण जिम्मेवारी समेतलाई मध्यनजर राखी उहाँलाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै यो बैठक सर्वसम्मतिबाट उहाँको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ ।
२- नेपाली कांग्रेसका उपसभापति श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नु भएको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई बैठकमा साथीहरुबाट प्राप्त सुझावहरु समेत समावेश गरी परिमार्जन सहित पारित गर्ने निर्णय यो बैठक गर्दछ ।
३- मध्यपूर्वमा चर्किएको युद्ध विश्व शान्तिको अनिवार्य आवश्यकतालाई दृष्टिगत गर्दै चाडै नै अन्त्य हुने नेपाली कांग्रेस अपेक्षा गर्दछ । युद्धग्रस्त क्षेत्रमा लाखौं नेपालीहरुको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
४- हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन यो बैठक नेपाल सरकारसँग माग गर्दछ ।
५- २०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरू बारे न्यायिक जाँचवुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न सरकारसँग यो बैठक माग गर्दछ ।
६- पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृतिम अभाव सिर्जना गरिएको तर्फ नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि सरकारसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio