Tuesday, 21 April 2026
×
राजनीति
   

निर्वाचनको समन्वय गर्न सबै संयन्त्रलाई सक्रिय बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

७ माघ २०८२, बुधवार

निर्वाचनको समन्वय गर्न सबै संयन्त्रलाई सक्रिय बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ ।  आसन्न निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसेको हो ।

गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ । बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तको योजनाका बारेमा समीक्षा भएको छ ।

निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा  ब्रिफिङ भएको छ, साथै सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको छ। त्यस्तै बैठकमा सबै सुरक्षा निकायले समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल भएको हो ।

बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सो को निगरानीलाई प्रभावकारी बनाउने र गैर कानुनी भएको पाइएमा सो को कडाइका साथ कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :