Thursday, 23 April 2026
×
राजनीति
   

ओली भन्छन्- जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु

२८ फागुन २०८२, बिहिवार

ओली भन्छन्- जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन्।

उनले आफ्नो पार्टीले पनि सोचेअनुसारको नतिजा ल्याउन नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने बताएका छन् । जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको उनले उल्लेख गरे ।

अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरेर साथ दिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन् । 

उनले निर्वाचनको परिणाम अनुकूल नभए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको स्पष्ट पारेका छन् । ओलीले पार्टी आगामी दिनमा पनि जनतामाझ रहेर उनीहरूको हितका लागि काम गर्दै विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने बताएका छन् ।

उनले भनेका छन्- 

दिदीबहिनी तथा दाजुभाइहरू, यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु । यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।

निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन । हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *