पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता
५ फागुन २०८२, मंगलवार
५ फागुन २०८२, मंगलवार
काठमाडौँ । विश्वका विभिन्न देशका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तानका पूर्व कप्तान तथा पूर्व प्रधानमन्त्री इमरान खानको हिरासत अवस्था र स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त अपिल जारी गरेका छन् ।
सार्वजनिक गरिएको उक्त अपिलमा इमरान खानले सन् १९९२ मा पाकिस्तानलाई विश्वकप जिताएर इतिहास रचेको स्मरण गरिएको छ । अपिलमा उनलाई विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर तथा प्रेरणादायी कप्तानका रूपमा उल्लेख गरिएको छ ।
हिरासतमा रहँदा इमरान खानको स्वास्थ्य, विशेष गरी दृष्टिसम्बन्धी समस्या गम्भीर रूपमा बिग्रिएको खबरप्रति चिन्ता जनाउँदै पूर्व कप्तानहरूले पाकिस्तान सरकारसँग तत्काल विशेषज्ञ चिकित्सकबाट उपचारको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्मानजनक कारागार सुविधा दिन तथा निष्पक्ष र पारदर्शी कानुनी प्रक्रियाको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।
उक्त अपिलमा हस्ताक्षर गर्ने पूर्व कप्तानहरूमा माइकल एथर्टन, एलन बोर्डर, माइकल ब्रेयरली, ग्रेग च्यापल, इयान च्यापल, बेलिन्डा क्लार्क, सुनील गावस्कर, डेभिड गावर, किम ह्युजेस, नासेर हुसेन, क्लाइभ लोयड, कपिल देव, स्टेफेन वॉ र जोन राइट रहेका छन्।
अपिलमा क्रिकेटले राष्ट्रहरूबीच मित्रताको सेतुको काम गर्ने उल्लेख गर्दै खेल भावना, सम्मान र मानवियताको आधारमा इमरान खानप्रति गरिमापूर्ण व्यवहार गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio