पश्चिम एसियाका देशमा र्यापिड रेस्पोन्स टास्कफोर्स' गठन, ६६ हजार ७२१ नेपालीले गरे विवरण दर्ता
२८ फागुन २०८२, बिहिवार
२८ फागुन २०८२, बिहिवार
काठमाडौँ । पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न परराष्ट्र मन्त्रालय तथा त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको जनाइएको छ। मन्त्रालयका अनुसार समस्यामा परेका नेपालीहरूको उद्धार र सहायताका लागि सम्बन्धित नियोगहरूले निरन्तर समन्वय गर्दै आएका छन् ।
मन्त्रालयले आपतकालीन प्रतिक्रिया समूहको दोस्रो बैठकको निर्णयअनुसार पश्चिम एसिया तथा अफ्रिकास्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् र नेपाली समुदायले स्थापना गरेका विभिन्न संघसंस्थाबीच आपतकालीन समन्वय सुदृढ बनाउन ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गर्न निर्देशन दिएको छ । प्रत्येक नियोगका उपनियोग प्रमुखको संयोजकत्वमा यस्तो कार्यदल गठन गरिने मन्त्रालयले जनाएको छ ।
कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६६ हजार ७२१ जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरिसकेको मन्त्रालयले जनाएको छ । दर्ता भएका विवरणहरूको अध्ययन गरी आवश्यकता अनुसार आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताइएको छ । मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका सबै नेपालीलाई समय मिलाएर आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ ।
त्यस्तै, पश्चिम एसियास्थित केही नेपाली नियोगहरूले ती मुलुकमा ट्रान्जिटमा रहेका वा अत्यावश्यक कारणले नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरूको यात्रालाई सहज बनाउन सम्बन्धित विमान सेवा कम्पनी र सरकारी निकायसँग समन्वय गरिरहेको जानकारी पनि दिएको छ ।
मन्त्रालयले वर्तमान परिस्थितिमा पश्चिम एसियामा रहेका सबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन आग्रह गरेको छ । साथै कानूनविपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदानप्रदान नगर्न पनि अनुरोध गरेको छ ।
यदि प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा परराष्ट्र मन्त्रालयको आपतकालीन नियन्त्रण कक्ष वा सम्बन्धित देशस्थित नेपाली नियोगले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत तुरुन्त सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio