सरकारले भदौ २४ गतेको घटनाको सत्य तथ्य छानबिन गर्न एक सातामा उच्चस्तरीय समिति बनाउने
१४ चैत्र २०८२, शनिवार
१४ चैत्र २०८२, शनिवार
काठमाडौँ । सरकारले भदौ २४ गते घटेको घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीमा भदौ २४ गतेको घटनाको छानबिन गर्न एक साता भित्र उच्चस्तरीय समिति गठन गर्ने उल्लेख गरेको छ ।
निर्णयमा भनिएको छ- 'सम्वत् २०८२ भाद्र २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने । उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने ।'
त्यस्तै सरकारले भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकहरूको न्याय पुनर्स्थापना र राज्यप्रतिको विश्वास पुनर्स्थापना गर्न एकीकृत पहल गर्ने निर्णय गरेको छ ।
यस पहल अन्तर्गत शहीदका परिवार तथा घाइतेहरूको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गरी सम्मानजनक पुनर्स्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न १०० दिनभित्र योग्यताअनुसार सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप विकास, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सहायता समेटिएको समन्वित प्याकेज कार्यान्वयन गर्ने साथै उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षहरूमाथि प्रचलित कानूनबमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio