उपराष्ट्रपति यादवसँग नेपालका लागि बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
९ चैत्र २०८२, सोमवार
९ चैत्र २०८२, सोमवार
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन् ।
सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको हो ।
भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९७२ देखि नेपाल र बंगलादेशबीच मित्रवत् सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आपसी सम्मान र विश्वासमा आधारित सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताए ।
उनले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको सफलतामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गरेका थिए । साथै नेपालमा पनि प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेका थिए ।
उपराष्ट्रपति यादवले बंगलादेशको विकास अनुभवबाट नेपालले सिक्न सक्ने बताउँदै सहकार्यमार्फत दुवै देशका नागरिकको समृद्धि बढाउन सकिने धारणा राखेका थिए ।
राजदूत रहमानले नेपाल-बंगलादेश सम्बन्ध आपसी विश्वास र जनस्तरको सम्बन्धमा आधारित रहेको बताए । उनले व्यापार, शिक्षा र ऊर्जा क्षेत्रमा सहकार्य बढाउन सकिने उल्लेख गर्दै हाल नेपालले पाइरहेको ४० मेगावाट विद्युतलाई बढाएर ६० मेगावाट पुर्याउन प्रस्ताव गरेका छन्। साथै नेपालको व्यापार घाटा घटाउन पनि बंगलादेश सहकार्य गर्न तयार रहेको उनले बताए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio