मस्जिद तोडफोडको विरोधमा धनुषामा तनाव, सामाजिक सद्भाव कायम राख्न प्रशासनको आग्रह
२० पुष २०८२, आइतवार
२० पुष २०८२, आइतवार
वीरगन्ज । धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्जमा आइतबार प्रदर्शन भएको छ । प्रदर्शन बढ्दै गएर तोडफोडमा उत्रिएपछिप्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।
धनुषाको धनुकमला नगरपालिका- ६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेका हुन् ।
आइतबार बिहान प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले वीरगन्ज–३ छपकैयास्थित नेपाल प्रहरीको बिटमा तोडफोड पनि गरेका छन् । दिउसो एक बजेपछि भने अवस्था शान्त हुदै गएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भावमा खलल पुऱ्याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा साँस्कृतिक द्वेष भाव श्रृजना गरी राष्ट्रिय एकतामा आँच पुऱ्याउने वा झुठ्ठा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मान मर्दन गर्ने कार्यमा संलग्न व्यक्तिका सामाजिक सञ्जाल खातामा सुक्ष्म रुपमा निगरानी भैरहेको जानकारी गराउँदै यस्ता गतिबिधि नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको अनुरोध:
सामाजिक सद्भावमा खलल पुऱ्याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा साँस्कृतिक द्वेष भाव श्रृजना गरी राष्ट्रिय एकतामा आँच पुऱ्याउने वा झुठ्ठा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मान मर्दन गर्ने कार्यमा संलग्न व्यक्तिका फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल खाताको गतिबिधि सुक्ष्म रुपमा निगरानी भैरहेको जानकारी गराउँदै यस्ता गतिबिधिहरुलाई गम्भिरतापूर्वक लिई निम्न बमोजिम कानूनी दायरामा ल्याईने ब्यहोरा समेत सबैमा जानकारी गराई कडाईका साथ कार्यान्वयन गर्न/गराउन हुन अनुरोध गरिएको छः
१. मुलुकी अपराध संहिता, २०७४: धर्म सम्बन्धी कसूरः
दफा १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुऱ्याउने नहुनेः कसैले कुनै जात, जाती, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि नोक्सानी वा क्षति पुऱ्याउने वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहर मैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन।यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयासम्म जरिवाना हुनेछ।
दफा १५६. धार्मिक भावनामा आघात पुर्याउन नहुनेः कसैले लेखेर, वचनले वा चिन्हद्वारा वा अरु कुनै किसमबाट कुनै जात, जाती सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन। यस्तो कसूर गर्ने. वा गराउने ब्यक्तिलाई दुई बर्षसम्म कैद र बीस हजार रुपैयासम्म जरिवाना हुनेछ ।
२. विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ः
दफा ४७. विद्युतीत स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्नेः कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगायका सामाग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio