Sunday, 19 April 2026
×
समाचार
   

ओखलढुंगामा हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

२१ पुष २०८२, सोमवार

ओखलढुंगामा हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

ओखलढुंगा । हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र सोही गाउँपालिका-८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । 

चिशंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँस्थित किराना पसल संचालन गरी बस्ने ६० वर्षीय शोभितमान थापा मगर र उनकै श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको गत मंगलबार हत्या गरी नगद १ लाख रूपैयाँ तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये संगमलाई चिसाङ्ग गाउँपालिका-३ बाट र विनोदलाई सोही गाउँपालिका-४ रातोमटेबाट शुक्रबार तथा प्रकाश र अशोकलाई सोही गाउँपालिका-४ रातोमटेबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को समेत गत असोज २६ गते हत्या गरेको खुल्न आएको छ । 

साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक २ थान, सुनको रिङ १ थान, बन्चरो १ थान, खुकुरी १ थान र कोदालो १ थान समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :