प्रहरीको श्रीवृद्धिको लागि सामुहिक सहकार्य आवश्यक- महानिरीक्षक कार्की
२४ पुष २०८२, बिहिवार
२४ पुष २०८२, बिहिवार
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको श्रीवृद्धिको लागि सामुहिक सहकार्य आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बिहीबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा महानिरीक्षक कार्कीले कर्मचारीहरूले उच्च व्यावसायिकता तथा अनुशासनको प्रदर्शन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।
महानिरीक्षक कार्कीले समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउँदै कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिए । उनले पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए ।
महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न तथा आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए । उनले सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न थप क्रियाशील हुनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio