Tuesday, 21 April 2026
×
समाचार
   

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आरम्भ

२६ पुष २०८२, शनिवार

दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आरम्भ

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गरेका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा सुरक्षा निकायका प्रतिनिधिहरू, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, नेपाल स्काउट, विभिन्न सरोकारवाला निकायहरूका प्रतिनिधिहरू, विद्यार्थीहरू, ट्राफिक भोलेन्टियर लगायतको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली बसन्तपुर कुमारीघरबाट शुरू भई न्यूरोड गेट, बिर अस्पताल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको पुन: निर्माण भवनको समुद्‌घाटन समेत गरे । साथै उनले भवन पुन: निर्माणमा योगदान पुर्‍याउने महानुभावहरूलाई कदरपत्र प्रदान गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले आमनागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न एवम् दुर्घटना न्यूनीकरण गर्न यस अभियान फलदायी हुने बताउनुभयो । सडक दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायहरूको संयुक्त जिम्मेवारी आवश्यक रहेको बताए । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दिपक केसी र राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक वृत्तचित्र, ट्राफिक प्रहरी तथा बालकलाकरबाट नृत्य समेत प्रस्तुत गरिएको थियो । 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :