Sunday, 19 April 2026
×
समाचार
   

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

५ फागुन २०८२, मंगलवार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौंमा आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-६ का ५१ वर्षीय धर्मप्रसाद राई, तारकेश्वर नगरपालिका-७ की ३५ वर्षीया निमा डोल्मा लामा, कागेश्वरी मनोहरा नगरपालिका-९ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला तथा काठमाडौं महानगरपालिका-१३ बस्दै आएका गोरखा गण्डकी गाउँपालिका- १ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार धर्मप्रसादले अष्ट्रिया पठाइदिने भन्दै एक जनाबाट ५ लाख ८५ हजार रुपैयाँ ठगी गरेका थिए। निमाले बेलायत पठाइदिने प्रलोभनमा दुई जनाबाट ५० लाख रुपैयाँ असुलेकी थिइन्। त्यस्तै गोविन्दप्रसादले टर्की पठाइदिने भन्दै दुई जनाबाट २ लाख ३ हजार रुपैयाँ र सुरजबहादुरले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट ७ लाख ५० हजार रुपैयाँ लिई फरार भएको उजुरी परेको थियो ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले धर्मप्रसादलाई काठमाडौं महानगरपालिका-२६, निमालाई काठमाडौं महानगरपालिका-६, गोविन्दप्रसादलाई कागेश्वरी मनोहरा नगरपालिका-९ र सुरजबहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :